
नेपालगन्ज, बाँके – साउन २४, २०८२: पवित्र श्रावणी उपाकर्म र रक्षा बंधनको शुभ अवसरमा आज बिहान नेपालगन्जमा विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले सामूहिक कार्यक्रमहरू आयोजना गरेका छन्। पतंजलि योग समिति बाँके र आर्य समाज नेपालगन्जको संयुक्त आयोजनामा बिहान ९:०० बजेदेखि बागेश्वरी पार्कमा सामूहिक हवन-पूजन, यज्ञोपवीत परिवर्तन र धारण कार्यक्रम सम्पन्न भएको पतंजलि योग समिति बाँकेको इच्छारामले जानकारी दिए।


त्यस्तै, युवा नेपाल समिति बाँकेले बिहान १०:०० बजेदेखि सामूहिक रक्षा सूत्र धारण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा रक्षा बंधन मनाउँदै एकअर्कालाई रक्षा सूत्र बाँधेका थिए।


श्रावणी उपाकर्मको महत्त्व र परम्परा
श्रावणी उपाकर्म वैदिक कालदेखिको एक शाश्वत परम्परा हो। ‘उपाकर्म’को अर्थ नयाँ कार्यको आरम्भ हो, जसलाई प्राचीन समयमा विद्यार्थीहरूले गुरुहरूको सामुन्ने अध्ययन सुरु गर्ने अवसरका रूपमा मनाउने गर्थे। वर्षा ऋतुमा साधु-सन्तहरू गाउँ नजिक आउँदा स्थानीय बासिन्दाहरूले उनीहरूबाट ज्ञान प्राप्त गर्थे। यही क्रममा आचार्यहरूले यज्ञ गराएर यज्ञोपवीत धारण गराउँदै शिक्षाको शुभारम्भ गर्थे।


यज्ञोपवीत (जनेऊ) का तीन धागोले तीन महत्त्वपूर्ण व्रतलाई सम्झाउँछन्:
१. तीन ऋणको सम्झना:
पितृ ऋण: आमा–बुबाको सत्य र उचित आज्ञा पालन गर्ने, उनीहरूको माया र मेहनतको कदर गर्दै सेवा गर्ने।
ऋषि ऋण: गुरुबाट प्राप्त शिक्षालाई पालना गरी सत्यको मार्गमा अडिग रहने।
देव ऋण: ईश्वरप्रति कृतज्ञता व्यक्त गर्ने, जसले मानव जन्म, साधन र मोक्षको मार्ग प्रदान गरेको छ।
२. मन, वचन र कर्ममा पवित्रता: यज्ञोपवीतले जीवनमा पवित्रता कायम राख्ने सङ्कल्पलाई दर्शाउँछ।
३. ज्ञान, कर्म र उपासनामा निरन्तरता: निरन्तर ज्ञान प्राप्त गर्ने, कर्ममा समर्पित रहने र ईश्वरको उपासना मार्फत जीवनलाई सार्थक बनाउने।
पुर्खाहरूको मार्गमा अगाडि बढ्ने सङ्कल्प
कार्यक्रमको बारेमा बताउदै राजकुमार आर्यले यज्ञोपवीत धारणको महत्त्वबारे प्रकाश पार्दै भने, “हाम्रा महान् पूर्वजहरू श्रीराम, श्रीहनुमान र श्रीकृष्ण सबै यज्ञोपवीतधारी थिए। श्रावणी पर्वको अवसरमा हामीले पनि हाम्रा पुर्खाहरूको मार्ग पछ्याउँदै यज्ञोपवीत धारण गर्नुपर्छ। यो व्रत पुरुष र महिलालाई समान रूपमा लागू हुन्छ।” भने ,

सामूहिक सहभागिता
आर्य समाज नेपालगन्जले बागेश्वरी पार्कमा बिहान र बेलुका ९:०० बजे यस्ता धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस अवसरमा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक सहभागिता जनाएर यज्ञोपवीत धारण गरेका छन्।

श्रावणी उपाकर्म र रक्षा बंधनको यो पावन अवसरमा नेपालगन्जवासीले परम्परालाई जीवन्त राख्दै सामूहिक एकताको सन्देश प्रवाह गरेका छन्। सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो महापर्वको हार्दिक शुभकामना दिदै राजकुमार आर्य तथा इच्छारामले बताए ।
