जाजरकोटका १३ जना भारतको उत्तराखण्ड बाढीमा बेपत्ता

संवाददाता
संवाददाता

२३ साउन २०८२ शुक्रबार

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परी जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका छन्। बाढीपछि उनीहरू सम्पर्कमा नआएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।


अध्यक्ष बस्नेतले बुधबार जारी गरेको विज्ञप्तिमा बेपत्ता भएकाहरूसँग सम्पर्क हुन नसकेको र उनीहरूको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन्। “बाढीपछि सम्पर्कमा नआएका व्यक्तिहरूको खोजीका लागि परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छौँ,” बस्नेतले भने। उनले सोही क्षेत्रमा मजदुरी गर्न गएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कविहीन रहेको बताए।


जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बेपत्ताको विवरण सङ्कलन गर्न जिल्लाका सबै स्थानीय तह र प्रहरी चौकीहरूलाई निर्देशन दिइसकेको बताए। “हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नामावली सङ्कलन गर्न पत्राचार गरिएको छ। गृह मन्त्रालयलाई पनि यसबारे जानकारी गराइसकिएको छ,” उनले भने।


बेपत्ताहरूको खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको गाउँपालिका र जिल्ला प्रशासनले जनाएको छ।

 

Leave a Comment

सम्बन्धित खबर