
सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टरलगायत सरकारी सामग्रीहरू समेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार साउन ४ गते राति कबिलासी नगरपालिका वडा नम्बर ८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट विभिन्न सरकारी सामानहरू चोरी भएका थिए । घटनाबारे साउन ५ गते बिहान प्रहरी चौकी कबिलासीमार्फत सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा एउटा प्रिन्टर फेला पारेको थियो । क्यानन कम्पनीको उक्त प्रिन्टरको सिसा फुटेर क्षतिग्रस्त अवस्थामा बरामद भएको थियो ।
प्रहरीले सीसीटीभी फुटेज र अन्य प्राविधिक पक्षहरूको विश्लेषण गर्दै अनुसन्धानलाई अगाडि बढाउँदा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान खुलेको हो । सोही आधारमा खोजतलास गर्ने क्रममा प्रतिवादीहरूमध्ये एक रोहित मिश्रको घरमा खानतलासी गर्दा चोरी भएका अन्य सामानहरू फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरेको छः
रोहित मिश्र, वर्ष २२
सुरेन्द्र राय, वर्ष ४०
राजु पासवान, वर्ष २०
ललका पासवान, वर्ष २२
दिपक पासवान, वर्ष १९
बरामद गरिएका सामग्रीहरू
सीपीयू एक थान
मोनिटर एक थान
किबोर्ड एक थान
कुर्सी एक थान
राउटर एक थान
मल्टी प्लग एक थान
क्षतिग्रस्त प्रिन्टर एक थान
पक्राउ परेका सबैलाई चोरी सम्बन्धी कसुरमा सम्मानित सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
