
बाँके, ३१ असार २०८२ मंगलवार

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित न्यू कालीकोट होटलमा बसेका ६ जनालाई भारतबाट चोरी गरेर ल्याएका सुनका गहना र नगदसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १५ तोला २५ लाल (पत्थरसहित) तौल भएका सुनका गहना र ७ लाख ८७ हजार नेपाली रूपैयाँ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुर र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कालीकोटको रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका–८ निवासी १८ वर्षीय पङ्कज केसी, सोही वडाका ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री, साथै नरहरिनाथ गाउँपालिका–९ निवासी २८ वर्षीया सरिता शाही रहेका छन्।

प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार, पक्राउ परेका सबै कालीकोट जिल्लाका बासिन्दा हुन्। उनीहरूले भारतबाट सुनका गहना र नगद चोरी गरेर कोहलपुरमा लुकिछिपी बसेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा टोली खटिएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, कोहलपुर नगरपालिका–१ मा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष मनबहादुर सहकारी देउवालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट १ हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ।
प्रहरीले यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न थप निगरानी र अनुसन्धानलाई तीव्रता दिइरहेको बताएको छ।
