
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सञ्चार शाखामा ३० असार दिउँसो साढे १ बजे फोन आयो ‘सर नक्कली जस्तो देखिने नेपाली एक हजारको रुपैयाँको नोटसहित एक जना पसलमा आउनु भएको छ, प्रहरी पठाइ दिनुपर्यो ।’

ति व्यापारीले चलाखी पूर्वक सामान किन्न आएकी युवतीलाई एक्कैछिन बस्नु भनेर उनले सुन्ने नगरी सूचना प्रहरी कार्यालयमा पुर्याएका थिए । सञ्चार शाखाले गोप्य सूचनालाई तत्कालै प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापालाई पुर्यायो ।

बुढथापाभन्दा माथिल्लो तहमा प्रहरी उपरीक्षक (एसपी) एवम् प्रमुख सुधिरजंग शाही छन् । सूचनालाई तत्कालै रिस्पोन्स गर्दै एसपी शाहीले डिएसपी बुढथापालाई नै घटनास्थल पठाए ।
प्रहरीलाई सूचना दिने व्यक्तिको पसल पेरीफेरीमा सूचना पुग्ने वित्तिकै सादा पोशाकका प्रहरी पुगिसकेको थियो । अनुसन्धान प्रभावित नहोस् भनेर प्रहरीले आफ्नो सबै तयारी थालिसकेको थियो ।

सूचना दिने व्यक्तिको पसलमा डिएसपी बुढथापासहितको टोली पुगेर युवतीलाई नियन्त्रणमा लियो । उनी हुन् कुशे गाउँपालिका–५ की २२ वर्षीय दिलमाया सिंह ठकुरी । हाल सिंह वीरेन्द्रनगर–१० शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी थिइन् ।
प्रहरीले नियन्त्रणमा लिँदा सामान्य सोधपुछ गर्दा सिंहले आफूसँग एउटा मात्रै नोट भएको र केराकारी जानकारी गराईन् । प्रहरीले उनको शरीरमा खानतलासी गर्दा एक हजारका ६ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गर्यो । पक्राउ गरेर सिंहलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याएर अनुसन्धान प्रक्रिया थाल्यो ।
२५ असार साँझ साढे ६ बजे पाँच किलो ५४० ग्राम अफिमसहित प्रहरीले जाजरकोटकै जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जयबहादुर बस्नेत पक्राउ गरेको थियो । अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना आएपछि प्रहरीले एक महिनासम्म निगरानी राखेर बस्नेतलाई पक्राउ गरेको थियो ।

तर भविष्यको खोजीमा रहेकी सिंह (युवती) कसरी नक्कली नोटको जालोमा परिन् त भन्ने शंका प्रहरीलाई बढायो । ३० असार दिउँसो साढे १ बजेबाट अनुसन्धान प्रक्रिया थालिसकेको थियो ।
‘पक्राउ परेकी सिंहको केरकारी वयानले मात्रै एसपी शाही र डिएपी बुढथापासहितको प्रहरीको टोलीले यत्तिकैमा अनुसन्धान अघि बढ्ने निचोडमा पुग्न सकेन,’ एक प्रहरीले भने, ‘उहाँहरुले कम्तिमा साढे चार घण्टा लगाएर सिंहमाथि विभिन्न चरणबाट अनुसन्धान थाल्दा थप व्यक्तिको संलग्नता हुनसक्ने बलिया आधार फेला पार्यो ।’
एसपी शाहीले पक्राउ परेकी सिंहलाई लिएर डिएसपी बुढथापासहिको टोलीलाई थप अनुसन्धान गर्न खटाए । ३० गते (सोमबार) साँझ ६ बजे डिएसपी बुढथापाको कमाण्डमा सिंह बस्ने वीरेन्द्रनगरस्थित कोठामा पुगेर खानतलासी गर्यो ।
सिंहको कोठाबाट एक हजार रुपैयाँका १२३६ नोटसहित १२ लाख ३६ हजार नक्कली नोट फेला परेपछि अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख शाही बताउँछन् ।
नक्कली नोटसहित पक्राउ परेकी सिंहका दाजु रामबहादुर सिंहलाई पक्राउ गर्न सफल भएको उनको भनाई छ । ३३ वर्षीय रामबहादुर कुसे गाउँपालिका–५ खुर्पा जाजरकोटकै हुन् ।
दाजु र बहिनी नै पक्राउ पर्दासम्म प्रहरीले यसको सञ्जाल थप रहेको तथ्य फेला पार्यो । नक्कली नोट आफुसँग आइपुग्नुमा छिन्चुमा रहेका दुई जनाको नाम दिए । एसपी शाहीले घटनाको सबै सुपरीवेक्षण र अनुसन्धानका आवश्यक समन्वय जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गरिरहेका थिए ।
डिएसपी बुढथापाको टोली घटनालाई पछ्याउँदै छिन्चुतर्फ लाग्यो । जाली नोटको कारोबारमा संलग्न छिन्चुमा रहेका दुई जनालाई पक्राउ गर्न बुढथापा छिन्चु पुग्दा रातीको १० बजेको थियो ।
भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलमा कोठाभाडामा बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकलाई प्रहरीले पक्राउ गर्यो । उनीहरुको कोठाबाट ११ किलो ३७३ ग्राम अफिमसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जना कुसे गाउँपालिका–७ समकोट गमौडी जाजरकोटका हुन् । गोप्य सूचना पाएको साढे ८ घण्टामा प्रहरीले अपेक्षा गरेभन्दा बलिया आधारहरुसहित तथ्य फेला पार्दै गयो ।
छिन्चुमा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखेर डिएसपी बुढथापाले राती नै अनुसन्धान थाले । ‘नक्कली नोट बनाउने मुख्य व्यक्ति बाँकेको कोहलपुरमा रहेको पक्राउ परेकाहरुले बयान दिएपछि बुढथापासहितको टोली मध्यराती प्रस्थान गर्यो,’ एसपी शाहीले भने, ‘राती नै कोहलपुर पुगेको प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुरको समन्वयमा आफूलाई पत्रकार बताउने मनबहादुर सहकारीलाई मंगलबार विहान पक्राउ गर्न सफल भएका हौं ।’
पत्रकार हुँ भन्दै डिएसपीलाई थर्काएपछि…
सोमबार दिउँसो साढे १ बजेबाट अनुसन्धानमा खटिएका सुर्खेतका डिएसपी बुढथापा लगातार अनुसन्धानमा थिए । रातभर नसुतेका उनीसहितको टोलीले कोहलपुरमा पुग्दा त्यहाँको प्रहरीको सहयोगमा कसरी नक्कली नोट भएका व्यक्तिसँग पुग्ने रणनीति तय गरिरहेको थियो । पत्रकार बताउने सहकारीलाई नियन्त्रणमा लिन विहानैबाट प्रहरीले निगरानी उच्च पारिसकेको थियो ।
बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडबाट सहकारीलाई मंगलबार विहान साढे ८ बजे प्रहरीले पक्राउ गर्यो । पक्राउ गर्दा सहकारीले आफू पत्रकार भएको र राम्रो नहुने भन्दै डिएसपी बुढथापालाई थर्काएको एसपी शाही बताउँछन् ।
‘अनुसन्धानका लागि बलिया आधार थिए । त्यहीँ आधारमा सुर्खेतबाट प्रहरी त्यहाँसम्म पुगेको थियो,’ शाही भन्छन्, ‘शुरुमा प्रहरीलाई राम्ररी नै थर्काए । उनलाई पक्राउ गरेर मिडिया हाउस र कोठाबाट एक हजारका ५१ हजारका नक्कली नोट बरामद भयो ।’
शुरुमा निकै जंगिएका पत्रकार सहकारीबाट प्रमाण नै भेटिएपछि नक्कली नोट आफैले छापेको बयान प्रहरीलाई दिएका छन् । सहकारीले जनगर्जन नेटवर्क प्रालि नामक मिडियाको आवरणमा नक्कली नोटको कारोवारसँगै नक्कली नोट बनाउने गैर कानूनी कार्यमा संलग्न भएको बुढथापा बताउँछन् ।
सहकारी कालिकोटको नरहरिनाथ गाउँपालिका–४ का हुन् । शाहीकाअनुसार सहकारीको कोठाबाट १९ ग्राम लागऔषध अफिमका साथै नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर एक थान, कम्यूटर एक थान, कार्डरिडर एक थान, मेमोरी एक थान र क्यामेरा एक थान बरामद गरिएको छ ।
नक्कली नाेट बनाउनुकाे मुख्य उदेश्य नै अवैध काराेबारमा प्रयाेग गर्न, छिट्टै नफस्ने र काराेबार भइरहेकाे ठाउँमा शंकास्पद व्यक्तिकाे प्रवेश भएमा तत्कालै त्यहीँ छाडेर भाग्न सजिलाे हुने भएकाले छाप्ने गरेकाे सहकारीले प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन् ।
सहकारी नै मुख्य नक्कली नाेट छाप्ने र बाहिर पठाउने व्यक्ति भएकाे खुलेकाे प्रहरी उपरीक्षक शाहीले बताए । तर अनुसन्धान जारी रहेकाले थप पछि खुल्दै जाने उनी बताउँछन् ।
पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारवारी उद्योगमा मुद्दा चलाउने तयारी रहेको शाहीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले झण्डै दुई लाख रुपैयाँ सक्कली नोटसँग साटिसकेकाले कारोवार गर्दा सचेत रहन प्रहरी उपरीक्षक शाहीले अनुरोध गरेका छन् ।
ति नक्कली नाेटहरूमा अफिम खरिदका लागि व्यापारीहरूलाइ दिएकाे र प्रायः सुर्खेत, जाजरकाेट जिल्लाहरू ती नाेट बाडिएकाे पक्राउ परेकाहरूले बताएकाे प्रहरीकाे भनाइ छ । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई तीव्र बनाएको छ ।
स्रोत : नेपालकर्म
